काठमाडौं । वीरगञ्जमा हैजा र झाडापखालाको संक्रमण बढ्दै गएपछि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा हिजो बसेको बैठकले स्वास्थ्य जनशक्ति अभाव हुन नदिन आवश्यक परे स्थानीय तहका स्वास्थ्यकर्मीलाई तोकिएका स्वास्थ्य संस्थामा केन्द्रिकृत रूपमा खटाउन सकिने निर्णय गरेको हो। सो बैठकमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसाद सिंहको पनि उपस्थिति थियो।
निमित्त प्रजिअ कार्कीले रोग नियन्त्रणका लागि सबै निकायसँग समन्वय गरी आवश्यक सामग्री व्यवस्थापन गर्ने, माइकिङ, घरदैलो तथा जनचेतना कार्यक्रम तत्कालै सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो।


