काठमाडौं । राष्ट्रपति पौडेलसँग भियतनामी उपराष्ट्रपतिको शिष्टाचार भेट ,समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले नेपाल भ्रमणको क्रममा आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गरी आर्थिक सम्बन्ध अझ प्रगाढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाल कृषि, पर्यटन, उत्पादन र जलविद्युत् जस्ता क्षेत्रमा लगानीमार्फत आर्थिक–सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जानकारी दिनुभयो। साथै, विश्वकै गतिशील अर्थतन्त्रको रूपमा भियतनामले गरेको प्रगतिप्रति प्रसन्नता व्यक्त गर्दै उहाँले बौद्ध धर्म दुवै देशका जनताबीचको आत्मीय सम्बन्धको महत्वपूर्ण सेतु भएको उल्लेख गर्नुभयो।
उपराष्ट्रपति सुआनले नेपालले २०३० सम्म मध्यम आय भएका मुलुकको लक्ष्य लिएको र भियतनामले २०४५ सम्म उच्च आय भएका राष्ट्रको लक्ष्य लिएको प्रसंग उठाउँदै, दुई देशबीच नजिकको भविष्यमै सहकार्यका लागि व्यापक रूपरेखा बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले संस्कृति, खेलकुद र पर्यटन क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै अन्तर्राष्ट्रिय शान्ति र जलवायु परिवर्तनका सवालमा नेपालले देखाएको नेतृत्वप्रति प्रशंसा प्रकट गर्नुभयो।


