काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित महभीरमा निर्माणाधीन रघुगंगा जेपिए जलविद्युत आयोजनाको ड्याम नम्बर–१ मा सोमबार दिउँसो पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोले ड्याममा काम गरिरहेका बागलुङ तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका करिब ४६ वर्षीय लालबहादुर सुनारलाई पुरेपछि उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
सो घटनामा पाँचजना घाइते भएका छन् । गम्भीर घाइते भारतको गोपालगञ्जका ५३ वर्षीय धरम कुसवाहा, ५५ वर्षीय भैयाराम चौधरी र रोल्पा सुनछहरी–३ का ३३ वर्षीय सुमान पुनमगरलाई बेनी अस्पतालमा प्राथमिक उपचारपछि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
सर्लाही बागमती नगरपालिका–५ का ५५ वर्षीय गणेशबहादुर मगर र बाराको निजगढ नगरपालिका घर भएका ४० वर्षीय कुमार थापामगर सामान्य घाइते भई बेनीमा उपचाररत छन् ।
चिकित्सकहरूले घाइतेहरुको टाउको, मेरुदण्ड, हातखुट्टा र शरीरको भित्री भागमा चोटपटक लागेको बताएका छन् ।


