काठमाडौं । रुपन्देही क्षेत्र नं ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले २६ राजनीतिक दल दर्ता गरेको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार २७ दलले आवेदन दिएकोमा कानुनी प्रक्रिया पूरा गरेका २६ दललाई मात्र दर्ता गरिएको हो । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दर्ता भएको आयोगले जनाएको छ ।
दर्ता दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत रहेका छन् । अन्य दलहरूमा मंगोल नेशनल अर्गनाइजेशन, नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लगायत पनि समावेश छन् ।
आयोगले उम्मेदवार मनोनयन दर्ता असोज २१ गते हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।


