काठमाडौं । अभिनेत्री निरुता सिंह रेखा थापाको आगामी फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्न काठमाडौं आइपुगेकी छन् । सोमबारदेखि सुरु भएको फिल्मको छायांकनमा सहभागी हुन उनी आइतबार राति मुम्बईबाट काठमाडौं ओर्लिएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले नेपाली फिल्ममै निरन्तर काम गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, “अब म कहिँ पनि जान्नँ, निरन्तर नेपाली फिल्ममै काम गर्छु । बीचमा कोरोना भएकाले काम रोकिएको थियो, तर अब म टाढा बस्दिनँ ।”
निरुताले यसअघि पनि केही प्रस्ताव आएपनि परिस्थिती नमिलेर काम गर्न नपाएको बताइन् । तर, नेपाली फिल्मभन्दा टाढा बस्न नसक्ने उनले स्पष्ट पारिन् ।
फिल्म ‘३६ को आँकडा’मा उनको भूमिकाबारे अहिलेसम्म केही खुलाइएको छैन । निर्देशक सविर श्रेष्ठले पनि हाल खुलाउन नमिल्ने बताए । तर उनले भने, “मैले सहायक निर्देशक रहँदा निरुतासँग काम गरेको थिएँ । निर्देशक बनेपछि भने मौका पाएको थिइनँ । यो फिल्ममा चाहिने भूमिका भएकाले उनलाई नै रोजेका हौं ।”
यस फिल्ममा निरुतासँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी र पुष्प खड्काको पनि अभिनय रहनेछ । रेखा र निरुताले फिल्म ‘दुई पल’पछि पहिलो पटक पर्दा सेयर गर्न लागेका हुन् ।
निरुता सिंहले फिल्म ‘दाल भात तरकारी’पछि नयाँ प्रोजेक्टमा काम गरेकी थिइनन् । अब भने उनी पुनः ‘३६ को आँकडा’मार्फत पर्दामा फर्किन लागेकी छन् ।


