पर्सामा भन्सार छलीका सामानसहित ब्रेजा गाडी बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्साले ४८ लाख ९१ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका भन्सार छलीका सामानसहित सुजुकी भिटारा ब्रेजा गाडी नियन्त्रणमा लिएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–९ घण्टाघरचोकबाट रक्सौलतर्फ जाँदै गरेको बिआर–०१एफई–७१९९ नम्बरको ब्रेजा गाडी आवश्यक कागजात नहुँदा नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो। सो गाडीको अनुमानित मूल्य ३० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, सशस्त्र प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका १५ लाख ६९ हजार रुपैयाँ बराबरका कपडा, बटर तथा सवारीसाधनका ‘स्पेयर पार्ट्स’ पनि आजै नियन्त्रणमा लिएको छ।

त्यसैगरी वीरगञ्ज–१६ का विभिन्न नाकाबाट १ लाख ७० हजार ८८५ रुपैयाँ बराबरका सामान तथा मदिरा, वीरगञ्ज–१९ वर्वाबाट ८७ हजार ४२० रुपैयाँ मूल्यका सामग्री र छपकैयाबाट ६३ हजार ९७० रुपैयाँ मूल्यका कपडा तथा किराना सामान बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित: सोमबार, भाद्र ०२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय