काठमाडौँ । हालैका रिपोर्टहरूले कार्यस्थलमा ल्यापटपको स्थानमा डेस्कटप-एज-अ-सर्भिस (DaaS) ले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखाएका छन् । गार्टनरको नयाँ अनुसन्धानले होस्ट गरिएका पीसीहरू (जसलाई डास पनि भनिन्छ) अब परम्परागत व्यापारिक ल्यापटपहरू भन्दा सस्तो भएको दाबी गरेको छ ।
डास (DaaS) भनेको क्लाउडमा होस्ट गरिएका भर्चुअल डेस्कटपहरू हुन्, जसले प्रयोगकर्ताहरूलाई विभिन्न उपकरणहरूबाट आफ्नो कम्प्युटरमा पहुँच गर्न अनुमति दिन्छ । गार्टनरका अनुसार यो सोलुसनले टाढाका कामदारहरू, विदेशी कामदारहरू, थर्ड-पार्टी कर्मचारीहरू, ठेकेदारहरू, फ्रन्टलाइन कामदारहरू र कार्यालयका कर्मचारीहरूलाई क्लाउडमा होस्ट गरिएका भर्चुअल डेस्कटपहरू पहुँच गर्ने सुविधा दिन्छन् ।
गार्टनरले सन् २०२७ सम्ममा लगभग ९५ प्रतिशत कर्मचारीका लागि डास लागत-प्रभावी हुने अपेक्षा गरेको छ । जुन २०१९ मा ४० प्रतिशत रहेको थियो । यसको मुख्य कारण ल्यापटपको तुलनामा विशेष गरी ‘थिन क्लाइन्ट’ को प्रयोगमा कूल लागत (Total Cost of Ownership) घटेको हो ।
प्रक्षेपण अनुसार २०२७ सम्ममा २० प्रतिशत प्रयोगकर्ताले होस्ट गरिएका मसिनहरूलाई आफ्नो मुख्य कार्यस्थलको रूपमा प्रयोग गर्नेछन्, जुन २०१९ मा १० प्रतिशत मात्र थियो । डासमा गरिने विश्वव्यापी खर्च सन् २०२५ मा ४.३ अर्ब डलर रहेकोमा सन् २०२९ सम्ममा ६ अर्ब पुग्ने अनुमान गरिएको छ ।
हाल अधिकांश संस्थाहरूले थोरै कर्मचारीहरूका लागि रिमोट वर्क सुरक्षित गर्न डासको प्रयोग गर्छन् ।लागत, परिचालनमा सहजता र दिगोपनमा जोड दिने संस्थाहरू डासतर्फ आकर्षित भइरहेका छन् । नयाँ प्रणाली स्थापना गर्दा प्रायः डासलाई नै प्राथमिकता दिइन्छ र परम्परागत भीडीआई (भर्चुअल डेस्कटप इन्फ्रास्टक्चर) सोलुसनहरू पनि डास तथा क्लाउड कन्ट्रोल अपनाइरहेका छन् ।
माइक्रोसफ्टलाई डिजिटल कार्यस्थल, क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा यसमा लिडरको रूपमा हेरिएको छ । यसका लागि माइक्रोसफ्टले अजुरे भर्चुअल डेस्कटप, विन्डोज ३६५ र माइक्रोसफ्ट डेभ बक्स जस्ता उत्पादनहरू ल्याएको छ ।
गार्टनरको अनुमान अनुसार माइक्रोसफ्टका ६० प्रतिशत डास ग्राहकहरू मध्यम आकारका संस्थाहरू रहेका छन् । जसमा १०० देखि पाँच हजार जना कर्मचारी रहेका हुन्छन् । जबकि पाँच हजारभन्दा बढी कर्मचारी भएका ठुला कम्पनीहरूको हिस्सा ३० प्रतिशत र १०० भन्दा थोरै कर्मचारी भएका साना संस्थाहरूको अंश १० प्रतिशत छ ।
डासको बजार अझै प्रारम्भिक चरणमा रहेको र यसमा सीमित नियमन भएकाले केही चुनौतीहरू पनि छन् । यसमा भेन्डर लक-इन (vendor lock-in) र लाइसेन्सिङको जटिलता जस्ता प्रश्न उठ्न सक्छन् । जसले गर्दा प्रयोगकर्ताहरूले स्पष्ट नियमहरू नबनेसम्म केही समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ ।


