काठमाडौँ । फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट स्पिडमा नेपालको सुधार देखिएको छ । ओकला स्पिडटेस्ट ग्लोबल इन्डेक्समा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटतर्फ सुधार गरेको नेपाल विश्वका १५२ देशको सूचीको शीर्ष ८८ औँ नम्बरमा पुगेको हो ।
इन्डेक्स अनुसार गत मार्चदेखि मेसम्मको अवधिमा नेपालको फिक्स्ड इन्टरनेट तर्फको मेडियन (औसत) डाउनलोड स्पिड ७६.१४ एमबीपीएस र अपलोड स्पिड ६०.५१ एमबीपीएस रहेको थियो । तर अप्रिलदेखि जुनसम्म आइपुग्दा यस्तो डाउनलोड स्पिडमा १.७६ एमबीपीएस र अपलोड स्पिडतर्फ १.११ एमबीपीएसले सुधार देखिएको छ ।यससँगै ७७.९० एमबीपीएस डाउनलोड (मेडियन) तथा ६१.६२ एमबीपीएस अपलोड (मेडियन) स्पिडका साथ नेपाल ८८ औँ स्थानमा पुगेको हो । एक महिनाअघि नेपाल ९० औँ देशको रूपमा रहेको थियो ।
लेटेन्सी र जिटर भने क्रमशः ५ मिलिसेकेन्ड र २ मिलिसेकेन्डमा यथावत् छ । तर नेपालको मोबाइल इन्टरनेट भरपर्दो नदेखिएको भन्दै ओकलाले इन्डेक्समा समावेश गरेको छैन ।
ओकला एक अन्तर्राष्ट्रिय कम्पनी हो, जसले इन्टरनेटको स्पिड टेस्ट सेवा प्रदान गर्नुका साथै विश्वभरका देशहरूको इन्डेक्स समेत तयार पार्ने गर्छ ।


