एप्पलले बिक्री घटेपछि चीनमा पहिलो पटक स्टोर बन्द गर्‍यो

काठमाडौँ । आईफोन निर्माता एप्पलले चीनमा रिटेल स्टोर बन्द गर्ने भएको छ । एप्पलले चीनमा रिटेल स्टोर बन्द गर्न लागेको यो पहिलोपटक हो । चीनमा एप्पलका उत्पादनको बिक्री निरन्तर घट्दै गइरहेको छ ।

एप्पलले सोमबार झोङ्सान जिल्लाको डालियान सहरमा रहेको पार्कल्यान्ड मलमा रहेको स्टोर आगामी ९ अगस्टदेखि बन्द गर्ने घोषणा गरेको छ । शपिङ कम्प्लेक्सको फेरिंदो अवस्थालाई कारण देखाउँदै एप्पलले त्यहाँबाट रिटेल स्टोर हटाउन लागेको जनाएको छ । सोही दिन एप्पलले बेलायतको ब्रिस्टलमा रहेको स्टोर पनि बन्द गर्ने भएको छ ।

“हामी हाम्रा ग्राहकलाई फरक अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ, चाहे त्यो हाम्रा अनलाइन ग्राहक वा चीनभर रहेका ५० बढी एप्पल स्टोरका ग्राहक किन नहोस् । अहिलेलाई हामी पार्कल्यान्ड मलको स्टोर बन्द गर्दैछौँ,” एप्पलको विज्ञप्तिमा भनिएको छ ।

चीनलाई पछिल्लो समय निर्यातका दरहरूमा अमेरिकासहितका देशले लगाउने चर्को करले अप्ठ्यारो पारिरहेको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा रिटेल बिक्रीको संख्या पनि घट्दै गइरहेको छ । जसका कारण गत महिना एप्पलका उत्पादनको मूल्य तीव्र रूपमा घटेको थियो ।

स्टोर बन्द भएपछि त्यहाँ कार्यरत कर्मचारीलाई एप्पलले चीनमा रहेका आफ्ना अरू स्टोरमा काम गर्ने अवसर दिने जनाएको छ । डालियन सहरमै रहेको ओलम्पिया ६६ सपिङ कम्प्लेक्समा एप्पलको अर्को स्टोर छ । जुन पार्कल्यान्ड मलबाट बढीमा १० मिनेटको दुरीमा छ ।

एप्पल चीनमा आफ्नो व्यापार पुरानै लयमा फर्काउन प्रयासरत छ । सन् २०२५ को दोस्रो त्रैमासमा एप्पलको बिक्री २.३ प्रतिशतले घटेर १६ अर्ब डलरमा सीमित भएको छ ।

एप्पलले चीनको सेन्जेन प्रान्तमा १६ अगस्टमा नयाँ स्टोर खोल्दैछ । चीनको राजधानी बेइजिङ र आर्थिक हब सांघाईमा आगामी वर्ष थप स्टोर खोल्ने योजना एप्पलको छ । जनवरीमा एप्पलले अन्हुई प्रान्तमा स्टोर खोलेको थियो ।

यसका साथै, चीनबाहिर एप्पलले अमेरिकी सहर डेट्रोइटमा नयाँ स्टोर विस्तार गर्दै छ । त्यसबाहेक यूएई, साउदी अरेबिया र भारतमा पनि नयाँ स्टोर खोल्ने एप्पलको तयारी छ । चार दिनअघि अमेरिकाको ओसाकामा एप्पलले फ्ल्यागशिप स्टोर खोलेको थियो । मायमीमा जनवरीमा स्टोर खोलेको एप्पलले गत वर्ष मलेसियामा पहिलो स्टोर खोलेको थियो ।

एप्पलले एकपछि अर्को रिटेल स्टोर खोलेको देखिए पनि कोरोना महामारीपछि यो क्रम निकै घटेको छ । रिटेल स्टोर खोल्नुको साटो एप्पलले भारत, साउदी अरबमा अनलाइन रिटेल स्टोरको अभ्यास सुरु गरिसकेको छ । पुराना स्टोरहरूलाई आवश्यकताअनुसार स्तरोन्नति वा सार्ने काम पनि एप्पलले गरिरहेको छ ।

एप्पलले अमेरिकाको मिशिगन र अस्ट्रेलियाको सिड्नी नजिक रहेको हर्नस्बाईमा रहेका स्टोर पनि बन्द गर्ने योजना बनाएको छ ।

प्रकाशित: बुधबार, साउन १४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय