एप्पल इन्टेलिजेन्स र नयाँ डिजाइनसहित आईओएस २६ को सार्वजनिक बीटा उपलब्ध

काठमाडौँ । एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस २६ (IOS 26) को पब्लिक बेटा भर्सन (Public Beta Version) सार्वजनिक गरेको छ ।

योसँगै आईफोन प्रयोगकर्ताले अन्तिम भर्सन आउनुभन्दा अगाडि नै नयाँ सफ्टवेयरको अनुभव लिन पाउने छन् । यो नयाँ अपडेटमा बोल्ड डिजाइन, एप्पल इन्टेलिजेन्सका फिचरहरू र अन्य एप तथा सेवाहरूमा उल्लेख्य सुधारहरू गरिएका छन् ।

कुन–कुन आईफोनमा चल्छ आईओएस २६ ?

आईओएस २६ को बेटा भर्सन एप्पलको बेटा सफ्टवेयर प्रोग्राममा सहभागी भएका सबै प्रयोगकर्ताका लागि उपलब्ध छ । यो अपडेट आईफोन ११ र त्यसपछिका सबै मोडलहरूमा इन्स्टल गर्न सकिनेछ ।

आईओएस २६ सपोर्ट गर्ने आईफोनहरूः

आईफोन ११ देखि आईफोन १६ सिरिजसम्म (सबै प्रो र प्लस मोडलहरू सहित)

आईफोन एसई (दोस्रो पुस्ता र त्यसपछिका)

कसरी गर्ने इन्स्टल?

यदि तपाईँ आफ्नो आईफोनमा यो नयाँ अपरेटिङ सिस्टमको अनुभव लिन चाहनुहुन्छ भने सुरुमा beta.apple.com मा गएर एप्पलको बेटा सफ्टवेयर प्रोग्राममा साइन–इन गर्नुपर्नेछ । त्यसपछि आफ्नो आईफोनको सेटिङ्समा गई बेटा अपडेटलाई इनेबल गर्नुहोस् । यति गरेपछि सेटिङ्सभित्र ‘जेनरल’ (General) मा रहेको ‘सफ्टवेयर अपडेट’ (Software Update) सेक्सनमा गएर नयाँ अपडेट डाउनलोड तथा इन्स्टल गर्न सकिन्छ ।

अपडेट गर्नुअघि ब्याकअप अनिवार्य

एप्पलले बेटा सफ्टवेयरलाई आफ्नो मुख्य डिभाइसमा इन्स्टल नगर्न सुझाव दिएको छ । बेटा भर्सनमा विभिन्न बगहरू (bugs) वा फिचरहरू अपूर्ण हुन सक्ने भएकाले प्रयोगकर्ताले अपडेट गर्नुअघि आफ्नो आईफोनको सम्पूर्ण डेटा ब्याकअप लिनुपर्छ । म्याक फाइन्डर (Mac Finder) वा आईक्लाउड (iCloud) मार्फत आफ्नो डेटा ब्याकअप गर्न सकिन्छ । कुनै समस्या आएमा डेटालाई सुरक्षित रूपमा रिस्टोर गर्न ब्याकअप अनिवार्य गर्नुपर्ने सुझाव एप्पलको छ ।

आईओएस २६ का नयाँ फिचरहरू

सिस्टमको नयाँ डिजाइनः यो अपडेटमा ‘ग्लास’ नामक नयाँ डिजाइन ल्याइएको छ जसमा पारदर्शी इफेक्टहरू देख्न सकिन्छ । यो डिजाइन लक स्क्रिन, होम स्क्रिन, एप आइकन र सिस्टम नेभिगेसनमा लागु गरिएको छ ।

लाइभ ट्रान्सलेसनः अब मेसेजेज, फेसटाइम र फोन एपमा कुराकानीकै क्रममा प्रत्यक्ष अनुवाद (Live Translation) को सुविधा उपलब्ध हुनेछ ।

भिजुअल इन्टेलिजेन्सः स्क्रिनमा देखिएका कुनै पनि सामग्रीबारे प्रश्न सोध्न सकिनेछ ।

स्मार्ट सर्टकट्सः एआईको मद्दतले सर्टकटका लागि स्मार्ट सुझावहरू दिनेछ ।

फोन एपः यसमा ‘कल स्क्रिनिङ’ र ’होल्ड असिस्ट’ जस्ता नयाँ फिचर थपिएका छन् ।

मेसेजेजः अब मेसेजेजमा पोल (Poll) बनाउन, च्याटको ब्याकग्राउन्ड परिवर्तन गर्न सकिनेछ । ग्रुप च्याटमा कसैले टाइप गरिरहेको छ भने त्यसको इन्डिकेटर देखिनेछ भने अपरिचित नम्बरबाट आएका मेसेजहरू आफैँ फिल्टर हुनेछन् ।

एप अपडेटहरूः

एप्पल म्युजिकः गीतका लिरिक्स अनुवाद र अटोमिक्स सुविधा थपिएको छ ।

म्याप्सः प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्दै भ्रमण गरेका ठाउँहरू हेर्न सकिने र रुट पत्ता लगाउने सुविधामा सुधार गरिएको छ ।

गेम्स एपः मोबाइल गेमिङका लागि छुट्टै ’गेम्स’ एपलाई ल्याइएको छ ।

यसका साथै कारप्ले लाई पनि परिमार्जन गरी विजेटहरू, महत्त्वपूर्ण कुराकानी पिन गर्ने सुविधा र लाइभ एक्टिभिटिज (Live Activities) जस्ता फिचरहरू थपिएका छन् ।

कहिले आउँछ अन्तिम भर्सन?

एप्पलले आईओएस २६ को अन्तिम तथा स्टेबल (stable) भर्सन आगामी सेप्टेम्बर २०२५ मा आईफोन १७ सिरिज सार्वजनिक गर्ने कार्यक्रमसँगै सबै प्रयोगकर्ताका लागि जारी गर्ने अनुमान छ ।

प्रकाशित: सोमबार, साउन १२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय