काठमाडौँ । चिनियाँ ब्रान्ड साओमी ‘रेड्मी १५ सिरिज’ को तयारीमा जुटिरहेको छ । आधिकारिक घोषणा हुनुभन्दा अगाडि नै यो सिरिजको स्ट्यान्डर्ड मोडेल रेड्मी १५ को डिजाइन, कलर र मुख्य विशेषताहरू झल्काउने ‘अफिसियल लुकिङ’ तस्बिरहरू अनलाइनमा लिक भएका छन् ।
हालै सामाजिक सञ्जाल एक्समा एक टिप्सटरले सार्वजनिक गरेको तस्बिरमा रेड्मी १५ लाई तीन फरक कलरमा देखाइएको छ: कालो, बैजनी र सिल्भर-गोल्डेन मिश्रित रङ ।
ती तस्बिरलाई विश्लेषण गर्दा फोनको पछाडिको डिजाइन हालै सार्वजनिक भएको रेड्मी नोट १५ सिरिजसँग मिल्दोजुल्दो देखिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, यस पटक रेड्मी १५ मा तीन ओटा क्यामरा सेन्सर रहनेछन्, जुन यसको अघिल्लो संस्करण रेड्मी १३ को तुलनामा एक ठुलो अपग्रेड हो ।
गत वर्षको रेड्मी १३ मा १०८ मेगापिक्सेलको मुख्य क्यामरा र २ मेगापिक्सेलको म्याक्रो गरी जम्मा दुई ओटा मात्र क्यामरा थिए । नयाँ रेड्मी १५ मा मुख्य क्यामराका साथै एउटा अल्ट्रावाइड र एउटा म्याक्रो लेन्स रहने सम्भावना छ ।
फोनको अगाडिको भागमा बेजल (स्क्रिनको वरिपरीको किनारा) पहिलेको भन्दा पातलो हुनसक्ने देखिए पनि रेन्डर (कम्प्युटर निर्मित तस्बिर) बाट मात्रै यकिन गर्न कठिन छ ।
रेड्मी नोट १५ सिरिज बजारमा आइसकेपछि अब साओमीले आफ्ना सबैभन्दा सस्ता वा बजेट मोडलहरू ल्याउने तयारी गरेको हो । गत वर्षको लाइनअप अनुसार, यस पटक रेड्मी १५, रेड्मी १५सी र सम्भवतः रेड्मी १५आर मोडलहरू आउने अनुमान छ । गत वर्ष स्ट्यान्डर्ड रेड्मी १४ नआएकोमा यस पटक भने रेड्मी १५ सार्वजनिक हुने लगभग निश्चित देखिएको छ ।
पछिल्लो समय बाहिरिएका विभिन्न जानकारीहरूलाई आधार मान्ने हो भने रेड्मी १५ अघिल्लो संस्करणको तुलनामा डिस्प्ले, ब्याट्री, चिपसेट, क्यामरा जस्ता महत्त्वपूर्ण पक्षमा सुधारसहित आउनेछ ।


