काठमाडौँ । बङ्गलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।
ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले जित हात पारेको हो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।
नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गरिन । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गरिन । यसअघिको खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो ।
यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७-० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३-२ गोलले पराजित भएको थियो ।
यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ ।


