काठमाडौँ| कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय सुनाइएको छ ।
यो आदेश विदेशी मुद्रा संरक्षण तथा तस्करी रोकथाम ऐन सल्लाहकार बोर्डले पारित गरेको हो । यो मुद्दामा रान्यासँगै अन्य दुई जना अभियुक्त पनि मुछिएका थिए ।
आदेश अनुसार, तीनै जनालाई एकेक वर्षको जेल अवधिमा जमानतको लागि आवेदन दिने अधिकारबाट वञ्चित गरिएको छ । अर्थात् उनीहरूमध्ये कसैले पनि सम्पूर्ण सजाय अवधिभर जमानतको लागि आवेदन दिन सक्ने छैनन् ।
रान्या फिल्म ‘माणिक्य’मा कन्नड सुपरस्टार सुदीपको अपोजिट भूमिकाका लागि परिचित छिन् । उनले अन्य दक्षिण भारतीय फिल्महरूमा पनि काम गरेकी छिन् । रान्यालाई यही वर्षको मार्च ३ मा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ दशमलव ८ किलो सुनसहित राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले पक्राउ गरेको थियो । बारम्बार अन्तर्राष्ट्रिय यात्रा गरेको कारण डीआरआईले निगरानीमा राखेको थियो ।
मार्च ३ को राति एमिरेट्सको उडानमा दुबईबाट बेंगलुरु आइपुगेकै समयमा उनलाई पक्राउ गरिएको थियो । रान्याले शरीरमा धेरैजसो सुन लगाएको र उनले आफ्नो लुगामा सुनका बारहरू लुकाएको डीआरआईका अधिकारीहरूले बताएका थिए । रान्याका सौतेनी बुबा रामचन्द्र राव एक वरिष्ठ आईपीएस अधिकारी हुन् ।


